भारत भ्रमणमा रहेको सत्तारुढ दल नेकपा माओवादी केन्द्रको प्रतिनिधिमण्डलले सोमबार दिल्लीस्थित भारतीय सत्तारुढ पार्टी भाजपाको केन्द्रीय कार्यलयमा भाजपा नेताहरूसँग छलफल गरेको छ ।
माओवादी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल र भाजपा महिला मोर्चाकी राष्ट्रीय उपाध्यक्ष दर्शना सिंहबीच भाजपा कार्यालयमा अन्तर्क्रिया भएको हो । यस अवसरमा महिला मोर्चाले सुरुवात गरेको केही महत्वपूर्ण कार्यक्रमहरूबारे माओवादी प्रतिनिधिमण्डललाई जानकारी गराइएको थियो ।
यस्तै माओवादी प्रतिनिधिमण्डल र भाजपा युवा मोर्चाका राष्ट्रीय अध्यक्ष तथा लोकसभा सांसद तेजस्वी सूर्याबीच पनि अन्तर्क्रिया भएको छ । सो अवसरमा सांसद सूर्याले भारतीय राजनीतिमा युवा नेताहरूको भूमिका र सरकारद्वारा संचालित नीतिगत कार्यक्रम सफल पार्न मोर्चाको भूमिका बारे जानकारी गराएका थिए ।
भाजपाको निमन्त्रणमा माओवादी प्रतिनिधिमण्डल आइतबार भारत भ्रमणमा गएको हो ।