संखुवासभा — चीनको सीमावर्ती संखुवासभाको किमाथांकामा नेपाल टेलिकमले पहिलो पटक फोरजी सहितको जीएसएम मोबाइल सेवा सोमबारबाट सुरु गरेको छ । दुर्गम उत्तरी क्षेत्र भोटखोलाको किमाथांका नाकामा सेवा सञ्चालन भएपछि स्थानीयवासी लाभान्वित भएका छन् ।
यसअघि भोटखोलाका केही क्षेत्रका स्थानीयले नेपाल टेलिकमको सीडीएमए सेवा र चिनियाँ सिमकार्ड प्रयोग गर्दै आएका थिए ।
टेलिकमले जीएसएम सेवा सञ्चालन गरेपछि स्थानीयले खुसी व्यक्त गरेको टेलिकमका खाँदबारी प्रमुख प्रेमकुमार राईले बताए ।
प्रतिकूल मौसम र कठिन भूगोल भएका कारण सदरमुकाम खाँदबारीमा सेवा सुरु भएको दुई दशकपछि किमाथांकामा सेवा सञ्चाल भएको हो । भोटखोलामा पर्ने किमाथांका नाका पुग्न सदरमुकाम खाँदबारीबाट कम्तिमा चार दिनको पैदल हिँड्न पर्छ ।