ताप्लेजुङ। असार १५ गते सम्म ताप्लेजुङमा ३७ प्रतिशत धान रोपाइँ भएको छ। जेठ महिनाको दोस्रो साता पछिदेखि नै रोपाइँ सुरु हुने गरेको भए पनि हालसम्म ३७ प्रतिशत मात्र धान रोपाइँ सकिएको हो।
कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार गत वर्षको तुलनामा यो वर्ष करिव पाँच प्रतिशत कम रोपाइँ भएको छ। कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार गतवर्ष असार १५ सम्ममा ४२ प्रतिशत रोपाइँ भएको थियो। ताप्लेजुङमा आठ हजार ३३७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत बिनय महर्जनले जानकारी दिनुभयो।
महर्जनकाअनुसार यसवर्ष बाढी र पहिरोका कारण धान रोपाइँमा असर पुगेको छ। कतिपय ठाउँमा सिँचाइका कुलोहरुमा क्षतिग्रस्त हुँदा रोपाइँ हुन सकेको छैन भने बाढीपहिरोले असर पु¥याउँदा परिवार, आवासलगायत व्यवस्थापनमा जनशक्ति अलमलिनुपर्ने हुँदा रोपाइँ गर्न ढिलाई भएको बताइएको छ। यता जिल्लाका किसानले बेलगुटी, भँगेरे, अट्टेजस्ता पुरानो रैथाने जातको धान खेती लगाउने गरेका छन्।
पछिल्लो समयमा भने उन्नत जातका धानबालीतर्फ पनि किसानहरु आकर्षित हुन थालेका कृषि प्रसार अधिकृत महर्जनले जानकारी दिनुभयो। उहाँका अनुसार सुख्खा–१, खुमल–४ जस्ता केही उन्नत जातका धानखेती किसानले लगाउँदै आएका छन्।
हिमाली जिल्ला भएका ताप्लेजुङका नौ स्थानीय तहका ६१ वटा वडामध्ये उच्च भेगका केही वडामा धान खेती नहुने गरेको छ। तल्लो औल तथा बेँसी क्षेत्रका खेतीयोग्य अधिकांस जमिनमा किसानले धान खेती गर्दै आएका छन्।