नेपालमा जिएसआई अवधारणाको औचित्य - Epathivara

चिनियाँ राष्ट्रपति सी चिनपिङ्गले गत चैतमा मात्रै प्रस्तावका रुपमा अघि सारेको ग्लोबल सिभिलाईजेसन इनिसिएटिभ (जिएसआई) अवधारणा नेपालमा कार्यान्वयन भएको चीनले दावी गरेको छ । यस सम्बन्धमा नेपालले भने चीनले सहयर्काका लागि आग्रह गरे पछि नेपालमा छलफलकै क्रममा यो अवधारणा रहेको दावी गरेको छ । यता नेपालका लागि चिनिया राजदुत छन् सोङले पोखरामा आयोजित दुईदिने ड्र«ागन बोट रेस फेस्टिभलको पहिलो दिनमै टवीट गर्दै यसलाई ग्लोबल सिभिलाईजेसन इनिसिएटिभको जीवन्त कार्यान्वयन भनेका छन् । चीनका लागि नेपालका राजदुतले पनि जिसिआई अध्ययनकै क्रममा रहेको दावी गरेका छन् ।

जिसिआई विश्व सभ्यतालाई एक ठाउँमा ल्याउने अवधारणा हो । यो अवधारणामा नेपाल अध्ययनकै क्रममा रहेको र सरकारले यसवारे छलफल पश्चात मात्रै निर्णय गर्ने नेपालले सार्वजनिक गरेको छ । चिनियाँ ऋणमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण बिआरआई अन्तर्गतकै ऋणवाट भएको चिनिया पक्षको दावी छ तर नेपाल भने यसलाई बिआरआई अन्तर्गतको ऋणवाट बनेको स्वीकार गर्न तयार छैन । न त आज सम्म चिनिया पक्षले नै यसको अहिलेसम्म खण्डन गरेको छ न त नेपाल सरकारले अहिले सम्म कुनै किसिमको कुटनीतिक नोट नै पठाएको छ । नेपालले यदि उपरोक्त दुई चिनिया अवधारणामा आफनो सहमति जनाई सकेको छ भने यथार्थ स्वीकार गर्न किन समस्या ? नेपालका राजनीतिज्ञहरु सधैं नै दोहोरो अर्थ लाग्ने कुरा गर्दछ यसले गर्दा यिनको कुरामाथि विश्वास पनि हुन सकिरहेको हुँदैन ।

गत सात्ता उत्तरी छिमेकी चीनको भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग चीनले जीएसआई (ग्लोबल सेक्युरिटी इनिसिएटिभ) र जीसिआईमा सहभागी हुन आग्रह गरेको थियो । बेईजिङ स्थित जनबृहत सभाहलमा तिमिल्सिनालाई भेट्दै चिनिया जनकाँग्रेस (एनपीसी) का स्थायी समिति सदस्य चाओ लमीले यस्तो प्रस्ताव अथवा आग्रह गरेका थिए । अमेरिकाको आइपिएसमा सहभागी हुन अस्वीकार गरेको नेपाल जिएसआईमा सहभागी नहुनु नै नेपालको असंलग्न परराष्ट्र नीतिको पहिचान हुनेछ । केही दिन पछि चीनले फेरी यस्तो दावी नगरोस कि नेपाल जिएसआईमा पनि सहभागी भई सकेको छ र हाम्रो तर्फवाट त्यही पुरानो सफाई दोहोरिनेछ कि नेपाललाई यसवारे जानकारी नै थिएन र नेपालले आफनो सहमति नै प्रदान गरेको छैन ।

चिनियाँ राष्ट्रपति सी चिनपिंगले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को विभिन्न मुलुकका राजनीतिक दलसँग गत चैत्रमा भएको उच्च स्तरीय सम्वादका क्रममा जीसीआईको प्रस्ताव राखेका थिए । सीले प्रस्ताव गरेको जिसिआईमा मानव समाजको साझा विकास र प्रगतिका लागि ताजा र बलियो ऊर्जा प्रदान गर्नेछ भने तर्क चिनियाँ सन्चार माध्यमहरुको रहेको छ ।

चीनको सरकारी सन्चार माध्यम सिन्हवाले जिएसआईको प्रशंसा गर्दै इतिहास, संस्कृति, राजनीतिक प्रणाली र विकासका चरणहरुमा भिन्नताका वावजुद पनि विश्व भरिका देशहरुले शान्ति, विकास, समानता, न्याय, लोकतन्त्र र स्वतन्त्रताको साझा आकांक्षा र मानवताका मूल्यहरु राख्छन् । मावताको इतिहासमा विभिन्न सभ्यता अस्तित्वमा आएका छन्, विकसित भएका छन् । दिगो शान्ति र कल्याणयुक्त संसारलाई महसुस गर्न हामी सबैले जिसिआई अंगाल्नु पर्ने भनेको छ । चिनियाँ राष्ट्रपतिले बिआरआई जिडिआई, जिएसआई र अब जिसिआईको अवधारणा प्रस्ताव गरेका छन् । कमोवेश चारवटै अवधारणा एकै साथ जोडिएका छन् । बिआरआई अन्तर्गत ऋण लिनु, जिडिआई अन्तर्गत त्यही ऋणवाट विकास गर्नु, जिएसआई अन्तर्गत चिनियाँ सुरक्षा छातामा आउनु र अन्त्यमा चिनियाँ सभ्यतालाई आत्मसात गर्नु हो । यस्ता अवधारणाहरु अवश्य पनि ग्लोबल नेतृत्व लिने र आफुसित ऋण लिएका देशहरुलाई आफुले भन्ने जस्तो गर्न वाध्य पार्नु हो । आफनो प्रभाव बढाउने मनसायले यसलाई अघि सारिएको हो ।

हाम्रो अवस्था “क्लाइन्ट स्टेट” को जस्तो हुन गएको छ । जबसम्म हामी क्लाईन्ट स्टेटको अवस्थावाट उम्किदैनौ र हाम्रो रणनीति स्वायत्त हुँदैन तब सम्म हामी बलियो हुन सक्दैनौं । हामी बलियो नभए सम्म कहिले अमेरिकाले एमसीसी आईपिएस र एसएसपीमा सहभागी हुन दवाव दिनेछ भने अर्कातिर उत्तरी छिमेकी चीनले बिआरआई, जिडिआई, जिएसआई र जिसिआईमा पनि सहभागी हुन दवाव दिनेछ । चीनकै अर्को कार्यक्रम ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ जिडिआईमा नेपाल सहभागी भईसकेको छ । चीनकै बिआरआईमा नेपाल सन् २०१७ मा नै पक्ष राष्ट्र भइ सकेको छ । चीनले यसै कार्यक्रम अन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण भएको दावी गर्दछ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गत साता चीनवाटै पहिलो अन्तर्राष्ट्रिय (चार्टर) उडान भयो । उक्त उडानपछि राजदुत हुनले भनेका थिएकी चेङदू–पोखराको नयाँ हवाईरुटले चीन र नेपाल वीचको हिमाल पार बहुआयामिक कनेक्टिभिटी नेटवर्कका लागि नयाँ उपलब्धिको संकेत गरेको छ । यो कनेक्टिभिटी नेटवर्क विआरआई अन्तर्गत चीन र नेपालवीचको प्राथमिकता रहेको सहयोग क्षेत्र हो । चिनियाँ ऋण, निर्माण कम्पनी र डिजाईन समेत चिनियाँहरुवाटै भएका कारण पोखरा विमानस्थललाई बिआरआई अन्तर्गतकै निर्माणको रुपमा चीनले दावी गरेको छ, जबकी नेपालका सरकारका अधिकारीहरु भने बिआरआई अन्तर्गतका कुनै पनि योजना मुलुकमा अघि नबढेको दावी गर्दै आएका छन् ।

विश्वका प्राचिनत्तम सभ्यताहरु मध्ये रोमन सभ्यता समाप्त भई सकेको छ । ग्रीक–रोमन सभ्यता आफनो सौन्दर्य र वैभवको निम्ति प्रसिद्ध थियो । इजिप्ट तथा इरान–इराकको सभ्यता पनि सौन्दर्य, वैभव तथा मोज–मस्तीका लागि प्रसिद्ध थियो । पुराना सबै सभ्यताहरु एक किसिमले समाप्त भई सकेका छन् । चिनियाँ सभ्यता आफनो कला र शासक प्रतिको अटुट निष्ठाका कारण प्रसिद्ध रहेको छ जबकी हाम्रो पूर्वीय सनातन अथवा हिन्दु सभ्यता ज्ञान र प्रज्ञाका लागि प्रसिद्ध रहेको छ । हाम्रा वेद, पुराण, ऋषिमुनीहरुको वाणी र महापुरुषका महावाणीले विश्वजगतलाई धेरै थोक दिएको छ । एउटा हिन्दुले विश्वका कुनै पनि सभ्यतावाट नयाँ केही सिक्नुपर्ने कारण छैन । यसलाई दुर्भाग्य नै मान्नुपर्दछ कि हिन्दु धर्मशास्त्र नपढने तर कसैले भनेकै आधारमा यसमा विकृति रहेको ठहर गर्दै इसाई बन्ने फैसन चलेको छ । हिन्दु धर्म, संस्कृति र सभ्यता त अथाह सागर जस्तो छ ।

भारतमा अंग्रेजको आगमन भन्दा पहिले विश्वका कुनै वैज्ञानिकले ठुलो खोज किन गर्न सकेनन् ? अंग्रेजहरु भारतमा आएर हाम्रै धर्मशास्त्रहरुको अंगेजीमा अनुवाद गराई, आफनो देशतिर अध्ययन–अनुसन्धान गरे उनीहरु शासक थिए, स्रोत–साधनको अभाव थिएन जबकी हाम्रो तिर स्रोत साधनको अभाव थियो । विदेश िमुगलहरुका कारण पनि ज्ञान भएर पनि केही खास अनुसन्धान हुन सकेन । नेपालले जिसिआई जस्ता कुनै पनि विदेशी सभ्यता सम्बन्धी अवधारणामा सहभागी हुनुको औचित्य छैन । अहिले पुरै विश्वको ध्यान हिन्दु धर्म संस्कृति प्रति आकर्षित भइरहेको अवस्थामा हामी अन्यत्र ध्यान दिनुको अर्थ छैन ।-श्रीमन नारायण

प्रतिक्रिया

सम्बन्धित खवर