ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले फुरुम्बुका किसानलाई आधुनिक मौरीको घार वितरण गरेको छ। फुङ्लिङ नगरपालिका–१० फुरुम्बुमा सञ्चालित मौरी पकेट कार्यक्रममा आवद्ध किसानलाई आधुनिक मौरीको घार वितरण गरिएको हो।
फुरुम्बुको जोगीडाँडा अलैँची कृषक समूहले सञ्चालन गरेको मौरी पकेट क्षेत्रका किसानलाई आधुनिक मौरीको घार वितरण गरेको फुङ्लिङ नगरपालिकाले जनाएको छ। फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार समूहमा आवद्ध रहेका परिवारलाई ८० वटा आधुनिक मौरीको घार वितरण गरिएको छ।
स्थानीय किसानलाई आत्मनिर्भर बनाउनमा सहयोग पुर्याउने उद्देश्य राखेर फुङ्लिङ नगरपालिकाले तीन लाख रुपियाँ बराबरको बजेटबाट मौरीको घार वितरण गरेको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो। उहाँका अनुसार फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा लगायतले फुरुम्बुका किसानलाई मौरीको घार वितरण गर्नुभएको हो।
यसअघि वडा कार्यालयले पनि वडाबासी २० जना किसानलाई एक–एक वटाका दरले आधुनिक मौरीको घार वितरण गरेको थियो। वडाध्यक्ष लिम्बूका अनुसार वडाबाट विनियोजित एक लाख रुपियाँ बजेटले स्थानीय किसानलाई व्यवसायिक र उद्यमशील बनाउन साथै उनीहरुको आय वृद्धि गर्नमा सहयोग पुगोस् भन्ने उद्देश्यसहित वडा कार्यालयले पनि आधुनिक मौरीको घार वितरण गरेको थियो।