चीनको रेस्टुरेन्टमा ग्यास लिक भएर विस्फोट हुँदा ३१ को मृत्यु - Epathivara

काठमाडौँ — उत्तरपश्चिम चीनको निङसिया हुई स्वायत्त क्षेत्रको एक रेस्टुरेन्टमा बुधबार भएको विस्फोटमा परी ३१ जनाको मृत्यु भएको छ । घटनामा सातजना गम्भीर घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको र उनीहरूको अवस्था स्थिर रहेको स्थानीय स्वास्थ्य अधिकारीले जानकारी दिए । घाइतेमध्ये एकजनाको अवस्था मात्र गम्भीर छ ।

सामान्य घाइते भएका एकजना बुधबार राति उपचारपछि डिस्चार्ज गरिएका थिए । क्षेत्रीय राजधानी यिनचुआनको जिङकिङ जिल्लाको व्यस्त सडककिनारमा रहेको रेस्टुरेन्टबाट बुधबार राति ८: ४० बजे खाना पकाउने ग्यास चुहावटपछि विस्फोट भएको थियो । विस्फोटको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका लागि रेस्टुरेन्टका म्यानेजर, सेयरधनी र कर्मचारीसहित नौजनालाई सार्वजनिक सुरक्षा निकायले नियन्त्रणमा लिएको छ । त्यस्तै घटनासँग जोडेर नौजनाको सम्पत्ति रोक्का गरिएको छ । मृतकहरू जलेर चिन्न नसक्ने भएकाले तिनको पहिचानमा काम भइरहेको अधिकारीहरूले सञ्चार माध्यमलाई बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर