अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने - Epathivara

मोरङ — अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्की विश्वासको मत लिने तयारीमा जुटेका छन् । अध्यादेशबाट बजेट ल्याउन असार ३० गते वर्षे अधिवेशन अन्त्य गरेका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन जेठ १४ गते बिहीबारका लागि प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को जेठ १० गते बसेको बैठकले प्रदेशसभाको तेस्रो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष सिफारिस गरेको थियो । प्रदेश प्रमुख खापुङले प्रदेश सरकारको सिफारिसमा आउँदो बिहीबार दिउँसो १ बजेका लागि सोमबार प्रदेशसभा बैठक आह्वान गरेका छन् ।

प्रदेशसभाको अहिलेको अंक गणितअनुसार एमालेका मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने अवस्था छैन । ९३ सदस्यीय प्रदेशसभामा सत्तारुढ एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ गरी ४६ जना प्रदेश सांसदको मात्रै उनलाई समर्थन छ । प्रतिपक्षमा गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाबुराम गौतमसहित १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीको एक गरी ४७ प्रदेश सांसद छन् । अहिलेको अवस्थामा मुख्यमन्त्री कार्कीलाई प्रदेशसभामा बहुमत पुर्‍याउन एक जना प्रदेश सांसद अपुग देखिए पनि विश्वासको मतका लागि दुई जना प्रदेश सांसद आवश्यक छ ।

मुख्यमन्त्री कार्कीले ४७ सांसदको समर्थन जुटाएर प्रदेशसभाको बैठकमा विश्वासको मत लिने अबस्थामा सभामुख अनुपस्थित भइदिए उपसभामुखले बैठकको अध्यक्षता गर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा संवैधानिक व्यवस्थाअनुसार बराबर मत भएपछि मात्रै बैठकको अध्यक्षता गर्नेले निर्णायक मत दिन पाउँछन् तर सभामुखसहित थप एक प्रदेश सांसद अनुपस्थित भएको अवस्थामा प्रतिपक्षमा ४५ मतमात्रै हुन जाने भएकाले मत बराबर नहुने स्थिति हुन्छ । त्यसैले मुख्यमन्त्री कार्कीले विश्वासको मत प्राप्त गर्न गठबन्धन दलका दुई प्रदेश सांसद तान्नैपर्ने बाध्यात्मक अवस्था छ । तर गठबन्धन दलले प्रत्येक प्रदेश सांसदलाई निगरानीमा राखेर मुख्यमन्त्री कार्कीले लिने विश्वासको मत विफल बनाउने तयारीमा छन् ।

गठबन्धन दलका प्रदेश सांसद तान्न नसकेको अवस्थामा मुख्यमन्त्री कार्कीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खोलिदिने संकेत गरेका छन् ।

मुख्यमन्त्री कार्कीले संविधानले गरेको व्यवस्थाअनुसारको समयसीमाभित्र विश्वासको मत लिएर अघि बढ्ने तयारीमा जुटेको बताए । ‘विश्वासको मतका लागि एमाले र राप्रपा एक ठाउँमा रहेको र अन्य प्रदेश सांसदसँग विश्वासको मत माग्छु,’ उनले भने, ‘प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलसँग औपचारिक रुपमा विश्वासको मत माग्ने र त्यो नभएको अवस्थामा बाटो खुल्ला नै हुन्छ ।’

कसको नेतृत्वमा नयाँ सरकार

मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाएपछि बन्ने नयाँ सरकार कसको नेतृत्व बन्ने अर्को अंक गणितीय खेलसमेत सुरु भएको छ । गठबन्धन दलमध्ये २९ जना प्रदेश सांसद रहेको कांग्रेस र सभामुखसहित १३ जना सांसद रहेको माओवादीले आलोपालो सरकार चलाउने सहमति गरेर नयाँ सरकार गठन गर्ने तयारी गरेको हो । तर पहिले कसले सरकारको नेतृत्व गर्ने विषयमा विवाद देखिएको छ ।

प्रदेशसभाको दोस्रो ठूलो दल कांग्रेस र माओवादी केन्द्रले पहिले सरकारको नेतृत्व गर्न पाउने आ–आफ्नै अडानमा छन् । गठबन्धन दलका प्रदेश संसदीय दलहरूको बैठकमा सरकारको नेतृत्व कसले गर्ने विषयमा आ–आफ्नै अडानमा रहेकाले केन्द्रीय गठबन्धनले गरेको निर्णय स्विकारेर नयाँ सरकार गठन गर्ने तयारीमा जुटेका छन् ।

कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले नयाँ सरकार गठनको प्रक्रिया अब २/३ दिनभित्र सुरु हुने अवस्था आइसकेको तर सरकारको नेतृत्व कसले गर्ने विषय टुंगिन बाँकी रहेको बताए । ‘संसदीय दलहरूको बैठकमा आलोपालो प्रणालीमा सरकार गठन गर्ने एक किसिमको सहमति भएको छ तर पहिले सरकारको नेतृत्व कसले गर्नेबारे टुंगो लागिसकेको छैन,’ उनले भने, ‘संसदीय दलका नेताहरूको बैठकमा सरकारको नेतृत्वको विषयमा कसैले आफ्नो अडान नछाडेकाले केन्द्रीय गठबन्धन दलले गरेको निर्णय स्विकारेर जाने सहमति भएको छ ।’ उक्त सहमतिअनुसार कांग्रेस र माओवादी दुवै दलले आ–आफ्ना पार्टीका शीर्ष नेताहरूलाई पहिले सरकारको नेतृत्व पाउनका लागि दबाब दिइरहेका छन् ।

राईले आफूहरूले पार्टी सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेताहरूलाई भेटेर पहिले सरकारको नेतृत्वका लागि निरन्तर दवाव दिइरहेको बताए । यता, माओवादी केन्द्रले पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई सोमबार बालुवाटारमा भेटेर पहिले सरकारको नेतृत्वका लागि आग्रह गरेको हो । माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका प्रदेश सांसदसहित प्रधानमन्त्री दाहाललाई भेटेर पहिले सरकारको नेतृत्वका लागि ध्यानाकर्षण गराएको एक प्रदेश सांसदले बताए ।

माओवादी केन्द्रका कोशी प्रदेश इन्चार्ज राम कार्कीले प्रदेशको समग्र स्थितिले नयाँ बन्ने प्रदेश सरकारको नेतृत्व माओवादीले नै पाउनुपर्ने अवस्था रहेको दाबी गरेका छन् । ‘अन्य प्रदेशमा कांग्रेसको नेतृत्व माओवादीले सहर्ष स्विकारेको अवस्थामा कोशी प्रदेश सरकारको नेतृत्व माओवादीले पाउनुपर्छ,’ उनले भने, ‘प्रदेशमा भइरहेको आन्दोलन र अन्य दलको समर्थनले पनि माओवादीले सरकारको नेतृत्व पाउनुपर्ने गठबन्धन दलमा हामीले माग राखेका छौं ।’

कांग्रेसको नेतृत्वमा सरकार गठन भए दलका नेता उद्धव थापा र माओवादीको नेतृत्वमा सरकार गठन भए दलका नेता इन्द्रबहादुर आङ्बोले नयाँ सरकारको नेतृत्व गर्ने अवस्था रहेको प्रदेश सांसदहरूको भनाइ छ । तर कांग्रेसमा सरकारको नेतृत्व कसले गर्ने विषयमा विवाद भने कायमै छ । कांग्रेसभित्र नेता कृष्णप्रसाद सिटौलानिकट थापा, सभापति देउवानिकट हिमाल कार्की र नेता शेखर कोइरालानिकट केदार कार्कीले सरकारको नेतृत्वका लागि पहल गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर