फुङलिङको बजेट ६७ करोड ५६ लाख,खुल्ला मन्च जग्गा खरिद गर्न साढे ३ करोड - Epathivara

देवराज गुरुङ,ताप्लेजुङ । असार १० गते । जिल्लाको फुङलिङ नगरपालिकाले नयाँ कार्यक्रमसँगै समुदायमा लोकप्रिय चालु आ.व. २०७९÷८० को संञ्चालित कार्यक्रमलाई निरन्तरता दिदै ६७ करोड ५६ लाख ५९ हजार ५ सय रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमूख भिमादेवी ओझाले आ.व.२०८०÷८१ का लागि प्रस्तुत गरेको बजेटमा एमविविएस र भेटनेरी डाक्टर अध्यन छात्रवृत्ति कार्यक्रम समावेश छ । आ.व.२०८०÷८१ मा एमविविएसतर्फ १५ लाख,भेटनेरी डाक्टर छात्रवृत्तितर्फ ३ लाख विनियोजन गरेको छ । एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्र÷छात्राका लागि २ लाख रुपैयाँ र डिप्लोमा इन हाइड्रोपावर इन्जिनियरिङ अध्यनका लागि समेत छात्रवृत्ति कार्यक्रम छ । विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था,बुहारी शिक्षा कार्यक्रम,दलित समुदायका विद्यार्थीका लागि आइटी छात्रवृत्ति र ११ वटै वडामा स्थानिय भाषा पठनपाठन कार्यक्रम छ । सामाजिक विकास समितिअन्तर्गत शिक्षा कार्यक्रमका लागि मात्र १ करोड २ लाख ३२ हजार रुपैयाँ विनियोजन गरेको छ ।

एमविविएस र भेटनेरी डाक्टर पढ्न छात्रवृत्ति,सडकमा ९ करोड ८० लाख 

यसैबिच सदरमुकाम क्षेत्रमा खुल्ला मैदान अभाव पूर्ती गर्न नीति तथा कार्यक्रममै उल्लेख गरि ३ करोड ५० लाख विनियोजन गरेको छ । हेलिप्याड सशस्त्र क्याम्पहुँदै लहरेगाउँसम्मको सडक कालोपत्र (क्रमागत) गर्न ८३ लाख ५० हजार छ । पराजुलीचोकदेखि विहीबारेहाटहुँदै सिद्धिडाँडा सडक ग्राभेल तथा कालोपत्र (क्रमागत) गर्न ८३ लाख ५० हजार छुट्याएको छ । तोक्मेडाँडा कफिहाउस नगरपालिका भवन जाने सडक कालोपत्र (क्रमागत) गर्न ८३ लाख ५० हजार विनियोजन गरेको छ । फुङलिङ नगरपालिका–६ स्थित सुकेटारमुनि निर्माणाधिन बहुसांस्कृतिक संङ्ग्राहलय निर्माणमा ६३ लाख छ । सडकबोर्डसँगको साझेदारीमा कार्यक्रम गर्न २५ लाख विनियोजन गरेको छ । निगिजुङ मेल्लुङ नाङ्गे बरडाँडा थाङने दोभानसम्म सडक निर्माण गर्न ४९ लाख रुपैयाँ छ । वडा नं. २ को भवनको बाँकी काम गर्न १७ लाख,वडा नं. ३ को कार्यालय भवनमा ४० लाख,वडा नं. ७ को भवन घेरावारा १० लाख,वडा नं. ८ को भवनका लागि ७० लाख र वडा नंं. ११ को भवन कार्यालय भवनका लागि ७० लाख विनियोजन गरेको छ । दोखुस्थित महेलेदेखि भगेनी डाँडासम्म सिँचाई कुलो निर्माण गर्न ५ लाख र ताल खर्क सिँचाई ट्याङ्की घेरावारा तथा मर्मत गर्न ४ लाख छ ।

फुङलिङ नगरपालिका दगुर्ने तमोर घाटमा शवदाह स्थल तथा विश्रामगृह बनाउन ३५ लाख विनियोजन गरेको छ । विरेन्द्रचोकस्थित सरस्वती कुण्ड निर्माण गर्न ३५ लाख छ । तीनबरे इन्डियन वेलफेयर पदमार्गमा १५ लाख छ । रेडक्रसहुँदै बसपार्क जोड्ने सडकमा २५ लाख र दोखुस्थित चम्पे गौतम गाउँदेखि मेची राजमार्ग जोड्ने सडक स्तरोन्नती गर्न २५ लाख छ । लघु उद्यम विकास कार्यक्रमका लागि १३ लाख रुपैयाँ छ । रविन्द्र स्मृती पार्कमा १० लाख रुपैयाँ छ । आदिबासी जनजाती कार्यक्रमतर्फ १४ लाख ५५ हजार विनियोजन गरेको छ । यसैबिच क्यान्सर रोगका विरामीको संख्या बढ्दो पाइएकाले ६ लाख रुपैयाँ विनियोजन गरेको छ । सुकेटार बजारमा सुरक्षाका लागि सिसी क्यामेरा जडान गर्न ४ लाख रुपैयाँ छ । १ सय वर्षमाथिक जेष्ठ नागरिकका लागि ‘जेष्ठ नागरिक अक्षयकोष’ स्थापना गर्ने भएको छ । एकल पुरुष भत्ताका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ । सार्वजनिक उपयोगिता सेवा सडक बत्तिका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ । मेयर कप पुरुष भलिबलतर्फ २० लाख तथा उपमेयर कप महिला फुटबलतर्फ १० लाख र विद्यार्थीहरुका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता संञ्चालन गर्ने उल्लेख छ । नगर प्रहरीका लागि १९ लाख ४० हजार विनियोजन गरेको छ । नगरपालिकाभित्रका सहकारीको क्षमता अभिवृद्धि गर्न २ लाख रुपैयाँ छ । नगर उपप्रमूख ओझाले भनिन्,‘यी त ठूला योजना हुन् । यी बाहेक टुक्रे योजना थुप्रै छन् ।’ ५० हजारदेखि ५ लाखसम्मका दर्जनौ योजना छन् । योजना सम्झौता गरेको १ महिनाभित्र काम सुरु नगरे उपभोक्ता समिति खारेज गर्ने जनाएको छ । २० लाख भन्दा मुनीका काम गुणस्तरीय र दिगो बनाउन प्रयोगशालामा परीक्षण गरेर मात्र भुक्तानी गर्ने प्रावधान राखेको छ । मासिक रुपमा विद्यालयको अनुगमन गरि प्रतिवेदन सार्वजनिक गर्ने भएको छ ।

नगरप्रमूख अमिर मादेनका अनुसार स–साना कार्यक्रमको सट्टा उपलब्धिमूलक सिमित योजना छनौट गर्ने भनिएतापनि बस्ती–बस्तीबाट आएको माग भएको योजना कटौती गर्न असम्भव बनेको छ । नगरप्रमूख मादेनले भने,‘टुक्रा टुक्री योजना नबनाउन सबैको सुझाव आउँछ । तर वडा–वडाबाट आउने योजना नै त्यस्तै हुन्छ । के गर्नु ?’ स–साना कार्यक्रम उपलब्धिविहिन हुन्छ भन्दै सुझाव दिनेहरुबाटै आएको योजनाले आफू अचम्मित भएको नगरप्रमुख मादेनले बताए । उनले भने,‘हेर्नुहोस ! यतिका धेरै योजना छन् । अनुगमन गर्नै कठिन हुन्छ । नदिए नागरिकले नै चित्त दुखाउँछ । अनि त्यही योजनामा बजेट विनियोजन गर्नु रहर होइन,बाध्यता हुन्छ ।’ ‘यातायात सञ्जाल,व्यवसायिक कृषि,पर्यटन र पूर्वाधार,शिक्षा,स्वास्थ्य र औद्योगिक विकास फुङलिङ समृद्धिको आधार’ भन्ने मूल नारा तय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर