पाथीभरा याङ्वरकको नीति तथा कार्यक्रमः डाक्टर पढ्न छात्रवृत्ति,वडा–वडामा बर्थिङ सेन्टर - Epathivara

देवराज गुरुङ,ताप्लेजुङ । असार १० गते । असार १० गते दिनको १ बज्न लागेको थियो । आकाश खासै खुलेको थिएन् । तैपनी बर्खायाम भएर होला,बाहिरको गर्मी पसिना झर्नेगरिकै थियो । थेचम्बुस्थित पुर्णेडाँडामाथि निर्मित पाथीभरा याङ्वरक गाउँपालिका भवनको सभाहल चिटिक्क पारेर सजाइएको छ । माला र विभिन्न रङ्का बेलुन सजावटमा प्रयोग गरिएको छ । कोठाको सिलिङमा जडान गरिएको फेन अर्थात पङ्खाको आवाज । बर पीपल चौतारीको सितला विर्साउनेगरिको त छैन् । तैपनी ‘बिसको उन्नाईस’ भनेझै केही राहतचाहिँ मिलेकै छ । पिउनका लागि बोतलमा पानी छ । पक्की भवनको कोठा । कोठाको भुँईमा हरियो कार्पेट विच्छ्याइएको छ । कार्पेटमाथि प्लास्टिकका कुर्सी ५ लाइनको छ । कार्यपालिका सदस्य र वडासदस्य बस्ने ५ लाइन पछाडिका कुर्सी कर्मचारीका लागि तयारी छ । अध्यक्ष,उपाध्यक्ष,प्रमूख प्रशासकीय अधिकृत र वडाअध्यक्ष बस्नका लागि सोफाको व्यवस्था छ । टेबल र टेबलमाथि नेमप्लेट पनि । भित्तामा टाँसिएको ब्यानरमा लेखिएको छ–‘पाथीभरा याङ्वरक गाउँपालिका गाउँ सभाको १४औं अधिवेशन’ ।

करिब १ बज्न लागेको थियो । गाउँपालिकाका कर्मचारी इक्साहाङ मेन्याङ्बो पोडियममा उभिए । लगत्तै कार्यक्रम संञ्चालन गरे । क्षणभरमै जनप्रतिनिधि र कर्मचारीले हलका कुर्सी भरिए । कर्मचारी पोसाकमा र जनप्रतिनिधि कोर्ट पाइन्टमा थिए । अध्यक्षबाट दीप प्रज्वलनगर्दा सबै जना आ–आफ्ना ठाउँबाट उठेर ताली बजाएर उद्घाटन भव्य बनाउन मदत गरे । राष्ट्रिय गीत र शहिदप्रति सम्मानसहित मौन धारण सकेलगत्तै गाउँपालिका अध्यक्ष केशर कुमार मेन्याङ्बो पोडियममा पुगे । अध्यक्ष मेन्याङबोले गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङलाई आ.व.२०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुमति दिए । अध्यक्ष र उपाध्यक्ष दुवैसँग अघिल्लो कार्यकालको अनुभव भएर होला,सहज प्रस्तुती थियो । प्रमूख प्रशासकीय अधिकृत जनार्दन निरौलाको नजर सबै कर्मचारी हलभित्र भए÷नभएको तथा आ–आफ्नो जिम्मेवारी निर्वाह गरे÷नगरेकोप्रति केन्द्रित भएको आभास हुन्थ्यो । अतिथि लेखिएको सेतो कागज र रिवन सजिएको पीपलको पात (ब्याच) । कर्मचारीले हाद्र्रिकताको मुस्कानसहित सम्मानका रुपमा सबैलाई दिए । अतिथिले आफ्नो ब्याच देब्रे छातिमा राख्न नपाउँदै माइक्लियर ब्याग पनि दिए । ब्यागभित्रको पेपरमा नीति तथा कार्यक्रम र बजेट लेखिएको थियो । नीति तथा कार्यक्रमतिर सबैका आँखा सोझिए ।
डाक्टर पढ्नेलाई छात्रवृत्ति,वडा वडामा बर्थिङ सेन्टर
७ पेजको नीति तथा कार्यक्रममा विषयगत रुपमा राखिएका योजना उल्लेख छ । अधिकाँश पुराना कार्यक्रमलाई निरन्तरता दिएको छ । गाउँपालिकाले एमविविएस अध्यन गर्नेलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । ‘हाम्रो पाथीभरा याङवरक’ नाम स्थानिय पाठ्यपुस्तक तयार गरि लागू गरेकाले थप व्यवस्थित गर्ने जनाएको छ । शैक्षिक पाश्र्व चित्र तथा १० वर्षे शैक्षिक गुरु योजना निर्माण गर्ने भएको छ । गाउँपालिकाको ५ वर्षे आवधिक योजना बनाएर चौतर्फी विकासमा फड्को मार्ने नीति लिएको छ । आर्थिक विकासअन्तर्गत कृषीतर्फ किसानलाई निर्वाहमूखी खेतीबालीमा मात्र बढि केन्द्रित हुने प्रवित्तिलाई निरुत्साहित गर्ने र व्यवसायिक खेतीमा प्रेरित गर्ने भएको छ । वडा नं. ५ र ६ मा कपास र ४ मा कफी तथा २,५ र ६ मा तेलहन बालीमा जोड दिइनेछ । वडा नं. १,२,३,५ र ६ मा किसानसँग साझेदारीमा व्यवसायिक गाई पालन गर्ने नीति लिएको छ । डेरी उद्योग स्थापनामा जोड दिइने उल्लेख छ ।
यसैबिच खहरेदेखि गाउँपालिका केन्द्रसम्मको सडक कालोपत्रे गर्ने भएको छ । जग्गाको व्यवस्थापन भएकाले ५ शैप्याको अस्पताल निर्माण सुरु गरिने भएको छ । तिरिङेमा वडा कार्यालय भवन बनाउन प्रदेश सरकारको समपुरक अनुदानमा साझेदारी गरि आउँदो आ.व.मा सम्पन्न गर्ने लक्ष्य लिएको छ । नाङ्खोल्याङमा स्वास्थ्य चौकी निर्माण सम्पन्न गर्ने भएको छ । जथाभावी सडक ट्रयाक खोल्न अनुमति नदिने र भएका सडकको मर्मत तथा स्तरोन्नती गर्ने भएको छ । सडक हेरालुको समेत व्यवस्था गर्ने भएको छ । विद्युतीय प्रणाली ई–बिडमार्फत ठेक्का आव्हान गर्दा असोज मसान्तसम्मको समय निर्धारण गरेको छ । ‘हाम्रो गाउँपालिका,उज्यालो गाउँपालिका’ कार्यक्रमअन्तर्गत केन्द्रिय विद्युत प्रसारण लाइन जडानका क्रममा कालो तार र मिटर बक्समा अनुदान कार्यक्रमलाई निरन्तरता दिएको छ । भुकम्प प्रतिरोधात्मक भवन निर्माण गर्न प्रत्येक वर्ष ४० जना डकर्मीलाई दिदै आएको तालिमलाई आ.व.मा पनि समावेश गरेको छ ।

खेलाडी उत्पादन तथा प्रोत्साहनका लागि वडास्तरीय वडाअध्यक्ष भलिबल र उपाध्यक्ष ब्याडमिन्टन प्रतियोगीता समावेश छ । सबै वडामा वर्थिङ सेन्टर स्थापना गर्ने भएको छ । सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमलाई निरन्तरता दिएको छ । अनाथ तथा जोखिमयुक्त बालबालिकाहरुको व्यवस्थापनको लािग एक कोष स्थापना गरि कोषबाट उनीहरुको पहिचान गरि निर्वाह भत्ताको व्यवस्था गर्ने भएको छ । दलित महिला,पिछडिएका वर्ग र पहुँच विहिनहरुको लागि लोक सेवा आयोग तथा शिक्षक सेवा आयोग तयारी कक्षा संञ्चालन गरिने भएको छ । आर्थिक रुपमा विपन्न एकल र जेष्ठ नागरिकलाई सुरक्षित आवास निर्माण गरिनेछ । नीजि,सार्वजनिक,सामुदायिक जग्गाको सिमाना निर्धारण गर्न १ जना अमिनलाई करारमा लिने भएको छ । गाउँपालिकाको आय व्यय हरेक महिना सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने उल्लेख छ । गाउँपालिकाको सेवा प्रवाह सम्बन्धि गुनासा सम्बोधन गर्न प्रमूख प्रशासकीय अधिकृतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने भएको छ । रेडियोमार्फत जनतासँग जनप्रतिनिधि कार्यक्रम समावेश गरेको छ । नीति तथा कार्यक्रमको विषयमा जनप्रतिनिधिले उठाएका प्रश्नको अध्यक्ष मेन्याङ्बोले जवाफ दिए । अध्यक्ष मेन्याङबोले भने,‘प्रश्न,सुझाव र सल्लाहको लागि धन्यबाद । नीति तथा कार्यक्रम संसोधनसहित पास भएको घोषणा गर्दछु ।’
तस्बिरः बसन्त पालुंङवा । सहयोगः देवेन्द्र बानियाँ र फुर्वा शेर्पा

प्रतिक्रिया

सम्बन्धित खवर