पाथीभरा याङ्वरकको बजेट ४३ करोड ८५ लाख - Epathivara

‘खहरे–गाउँपालिका केन्द्र सडकमा कालोपत्र गर्न ३ करोड’

देवराज गुरुङ,ताप्लेजुङ । असार १० गते । जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिकाले आइतबार आ.व.२०८०÷८१ का लागि ४३ करोड ८५ लाख ५ हजार २ सय रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङले गाउँपालिकाको १४औं अधिवेशनमा संघिय सरकार र प्रदेश सरकारमार्फत प्राप्त बजेटका आधारमा बजेट प्रस्तुत गरेका हुन् । गाउँपालिकाको ६ वटा वडालाई जनसंख्या,भूगोला,मानव विकास सुचाङ्क,कार्यसम्पादन स्तर तथा आन्तरिक स्रोत,राजश्वको क्षमता र खर्चको आवश्यकताको आधारमा वजेट विनियोजन गरेको छ । गाउँपालिकाको ६ वटा वडालाई ३ करोड १० लाख रुपैयाँ विनियोजन गरेको हो । नाङ्खोल्याङ ८० लाख,थेचम्बु ४० लाख,तिरीङे ४० लाख,डुम्रिसे ४५ लाख,चाक्सिेबोटे ४५ लाख र थुम्बेदिनलाई ६० लाख रुपैयाँ विनियोजन गरेको छ ।

यसैबिच मेची राजमार्ग खहरेदेखि गाउँपालिकाको प्रमूख प्रशासकीय भवनसम्मको सडक कालोपत्र गर्न ३ करोड विनियोजन गरेको छ । समपुरक अनुदानबाट १ करोड र वित्तिय समानिकरण २ करोड गरि ३ करोड विनियोजन गरेको उपाध्यक्ष गुरुङले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । तिरीङेको वडा कार्यालय भवन निर्माण गर्न समपुरकअनुदानतर्फ १ करोड र गाउँपालिकाको ३० लाख गरि १ करोड ३० लाख रुपैयाँको साझेदारीमा निर्माण गरिने भएको छ ।

वडा नं. २ थेचम्बु र वडा नं. ४ डुम्रिसे जोड्ने मोटरेवल पुल निर्माण गर्न २ करोड विनियोजन गरेको छ । विशेष अनुदानबाट थेचम्बुस्थित केरावारी–डाँडागाउँ–पुर्णेडाँडा खानेपानी योजनाका लागि ७१ लाख रुपैयाँ छ । गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्न १ करोड विनियोजन गरेको छ । भ्याकु लोडर खरिद गर्न ६० लाख रुपैयाँ छ । विपन्न नागरिक उपचार कोषमा २२ लाख २ हजार छ । मर्मत सम्भावर कोषमा ३० लाख र आकस्मिक कोषमा १० लाख विनियोजन गरेको छ । प्रकोप व्यवस्थापन कोषमा ३२ लाख ३९ हजार र लैङ्गिक हिंसा निवारण कोषमा १ लाख रुपैयाँ छ ।
सेरुवा झोलुङ्े पुलका लागि २० लाख र थेचम्बुमा खेल मैदान निर्माण गर्न १५ लाख विनियोजन गरेको छ । गाउँपालिकास्तरीय बालकोषमा २ लाख र नागरिक आरोग्य सेवा केन्द्रलाई ५ लाख रुपैयाँ छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत डुम्रिसेको सिदेश्वरी माध्यमिक विद्यालयमा स्वंयम सेवक शिक्षकका लागि ४ लाख ३२ हजार हजार विनियोजन गरेको छ । थेचम्बु माध्यमिक विद्यालय खेल मैदान विस्तार गर्न २२ लाख रहेको छ ।
उपाध्यक्ष गुरुङले प्रस्तुत गरेको बजेटका विषयमा गाउँपालिका अध्यक्ष केशर कुमार मेन्याङबोले जनप्रतिनिधिसँग सुझाव मागेका छन् । जनप्रतिनिधिले उठाएको प्रश्नको जवाफ दिदै अध्यक्ष मेन्याङ्बोले भने,‘असार २६ गते बैठक बस्छौ । बजेटमा उठाएका प्रश्नको सम्बोधन गरि बजेट बजेट २७ गते पारित गर्छौ ।’

प्रतिक्रिया

सम्बन्धित खवर