रास्वपा ताप्लेजुङले सप्ताहब्यापी कार्यक्रम गर्दै मनायो वार्षिकोत्सव - Epathivara

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङले पहिलो वार्षिकोत्सव सप्ताहब्यापी कार्यक्रमको आयोजना गर्दै मनाएको छ । पार्टीले विहिबार दिप प्रज्वलन, ७७ पटक घण्टी बजाउँदै शुभकामना आदानप्रदान गरि वार्षिकोत्सव मनाएको हो । प्रदेश कमिटिका सदस्य विरेन्द्र श्रेष्ठका अनुसार केन्द्रिय कार्यक्रम अन्र्तगत सप्ताहव्यापी रुपमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा जिल्लाका पालिका कमिटि संयोजक सहित पदाधिकारी, अन्य राजनितिक दलका प्रतिनिधि, कार्यकर्ताको उपस्थिती रहेको थियो । कार्यक्रममा शुभकामना मन्तब्य दिँदै नेकपा एमालेका जिल्ला कमिटि सदस्य सन्तोष प्रसाईले लोकतन्त्रको सुन्दर पक्ष भनेको नै पार्टीहरु भएकाले कसैले कसैलाई धारेहात लगाउनु नहुने बताए ।


यता कार्यक्रमको अध्यक्ष समेत रहेका प्रदेश सदस्य श्रेष्ठले पछिल्लो समय पार्टीप्रति ताप्लेजुङ जिल्लामा पनि माहोल बढेको बताए । आगामी २०८४ सालको निर्वाचनका लागि पार्टीका तर्फबाट चाँडै उम्मेदवार छान्ने र उनीहरुलाई प्रशिक्षण दिने योजना रहेको उनले सुनाए । यसअघि पार्टीले वृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको थियो ।

पार्टीका फुङ्लिङ नगरकमिटि सचिव युवराज बरालका अनुसार ताप्लेजुङबाट २ हजार ३ सय ९२ जनाले विहिबार सम्ममा सदस्यता लिएका छन् । ताप्लेजुङमा भने गत जेठ ७ गते पार्टी कार्यालय स्थापना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर