पाँचथर — असार ३ गतेको बाढीले पुल बगाएको पाँचथरस्थित हेवाखोला दोभानमा बेलिब्रिज बनाउन थालिएको छ । सडक डिभिजन कार्यालय इलामले मंगलबारदेखि निर्माणको काम थालेको हो ।
हेवाखोला मेची राजमार्गको फिदिम ताप्लेजुङ सडकखण्डअन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका–७ को दोभानमा पर्छ । २०३९ सालमा निर्माण गरिएको पुल असार ३ गतेको बाढीले बगाएको थियो ।
पुल बगेपछि पाँचथरका हिलिहाङ,फालेलुङ र याङवरक गाउँपालिका हुँदै ताप्लेजुङ जिल्ला फिदिम र इलाम हुँदै तराइका जिल्लासँग सडक सम्पर्कविच्छेद भएको छ । मौसम प्रतिकूल नभए १५ दिनभित्रमा बेलिब्रिज निर्माणको काम सकिने सडक डिभिजन कार्यालय इलामका इन्जिनियर विपिन ढुंगेलले बताए ।
सरकारले बेलिब्रिज निर्माण गर्न सडक डिभिजन कार्यालय इलामलाई निर्देशन दिएसँगै काम अगाडि बढेको हो ।