ताप्लेजुङ- पहिरोमा परि थप एकजना बेपत्ता भएकाछन् । सिदिंवा गाउँपालिका ६ मेहेलेमा सोमबार विहान गएको पहिरोमा परि स्थानीय केशर राई बेपत्ता भएका छन् भने अन्य दुईजनाको घाईते अवस्थामा उद्धार गरिएको स्थानीय कमल कडरियाले जानकारी दिए । उनीहरुको अवस्था गम्भिर रहेको बताईएको छ । मुुकुभञ्ज्याङ भन्ने स्थानमा विहान पहिरो गएको हो । सो क्षेत्रमा पाँचदिन देखि लगातार वर्षा भईरहेको छ । गाउँमा बस्न सक्ने अवस्था नरहेकाले स्थानीय सुरक्षित स्थान तर्फ सर्ने कोशिस गरिरहेको कडरियाले बताए ।
‘अहिले पनि मुसलधारे वर्षा भईरहेको छ । गाउँ नै पहिरोले चिरा–चिरा परेको छ ।’ कडरियाले भने ‘हाम्रो क्षेत्रको सुरक्षित स्थान भनेको निलगिरी माध्यमिक विद्यालय हो । त्यहाँसम्म पुग्ने अवस्था पनि छैन ।’ उनका अनुसार खाद्यान्न समेत अभाव भएको छ । हिजोदेखि नै स्थानीय पहिरोको जोखिमका कारण घर छाडेकाले खानाको समेत अभाव भएको उनले बताए । यस्तै स्थानीय स्वास्थ्य चौकीसमेत पहिरोले बगाएका कारण प्राथमिक स्वास्थ्य उपचारको पनि अभाव रहेको स्थानीयको भनाई रहेको छ । सोहि स्थानमा आईतबार बेपत्ता रहेका गणेश तामाङको शव फेला परेको थियो भने अन्य तीनजना अझै हराईरहेका छन् ।
ताप्लेजुङमा अहिले पनि बर्षा भइरहेको छ । अबिरल बर्षा नरोकिएका कारण राहत तथा उद्धारमा समस्या भएको छ । जिल्ला बिपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले पानी पर्ने क्रम नरोकिएकोले जोखिम बढ्न सक्ने भन्दै सबैलाई सावधानी रहन आग्रह गरेकी छन् । उनले बिपद् व्यवस्थापन समितिले राहत र उद्धारका कार्यलाई उच्च प्राथमिकतामा राखेको र यसकार्यमा सबै शक्ति परिचालित गरिएको बताईन् ।