ताप्लेजुङमा बाढी पहिरोः मेहेलेमा ४ जना बेपत्ता, आङ्खोपमा ३ घर बगायो - Epathivara

ताप्लेजुङ- पहिरोमा परी ताप्लेजुङमा ४ जना बेपत्ता भएका छन् । सिदिङ्वा गाउँपालिका वडा न ६ मेहेलेमा एकै घरका तीन जना र अर्का एकजना बेपत्ता भएका हुन् । मेहेलेको भालुुखोपमा गएको पहिरोमा परी स्थानीय यादव बुढाक्षेत्रीको श्रीमती भगिमाया बुडाक्षेत्री, बुहारी सन्ध्या बुढाक्षेत्री र नाति प्रज्वल बुढाक्षेत्री बेपत्ता भएको स्थानीय कमल कडरियाले जानकारी दिए ।

यादव भने सिरिजङ्गा गाउँपालिकाको पेदाङ गएका थिए । उनका अनुसार भालुखोपकै पहिरोमा परी स्थानीय गणेश तामाङ बेपत्ता भएका छन् । बुवाआमालाई सुरक्षित स्थानमा राख्ने क्रममा उनी भने बेपत्ता भएको बताईएको छ । उनीहरुको खोजी तथा उद्धारका लागि जनशक्ति परिचालन गरिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताईन् । अहिलेपनि अविरल वर्षा भईरहेकाले उद्धारमा भने समस्या भईरहेको छ ।

उता सिदिङ्वा गाउँपालिका वडा नं ३ आङ्खोपमा ३ वटा घर पहिरोले बगाएको छ । सिदिङ्वा गाउँपालिकाका अध्यक्ष मानबहादुर राईका अनुसार आङ्खोपमा प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको छ । सो घरका मानिसहरु भने भागेर बाँच्न सफल भएको स्थानीय शिक्षक चैतन्य बुढाथोकीले बताए । उनका अनुसार ईङवाखोलामा रहेको पुल तथा हाईड्रो पावरमा समेत क्षति पुगेको छ ।

तमोरनदी र मैवाखोलामा बढेको पानीको बहावले नदी तटिय क्षेत्र दोभान बजार जोखिममा परेको छ । दोभान वारी–पारी हुने मोटरेवल पुल नजिक गएको पहिरोले सडक अबरुद्ध गरेपछि आठराई त्रिबेणी र मैवाखोला गाउँपालिकातर्फ जाने सडकको सम्पर्क बिच्छेद भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)राजन लिम्बूले जानकारी दिए । सिरिजङ्गा गाउँपालिका वडा नं ४ तेल्लोकस्थित बाघथलामा घरलाई बीचमा पारी गएको पहिरोले बाधथला देखि गाउँपालिकाको कार्यालयतर्फको क्षेत्र समेतको सम्पर्क बिच्छेद भएको स्थानीय इन्द्र घतानीले जानकारी दिए ।

उता मेची राजमार्ग अन्र्तगत पाँथरको हेवाखोलामा रहेको मोटरेवल पूल बगाउँदा ताप्लेजुङ जिल्लाको तराईका जिल्लासँगको सडक सम्पर्क अवरुद्ध भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर