ताप्लेजुङ — बुधबार बेलुकादेखिको वर्षा र काबेली नदीमा आएको बाढीले ताप्लेजुङको पूर्वी क्षेत्रका सिदिङ्वा र सिरिजंगा गाउँपालिकामा क्षति पुर्याएको छ । मोटरेबल पुल, झोलुङ्गे पुल भत्काएको छ भने एउटा घरसहित केही पशुचौपाया समेत बगाएको स्थानीयले बताएका छन् ।
सिदिङ्वा गाउँपालिका १ सुरुमखिमका वडा सदस्य राजकुमार इम्वुङका अनुसार बाढीले सुरुमखिम–खेवाङ–याम्फुदिन जोड्ने मोटरेबल पुल भत्काएको हो । गत जेठ महिनामा उद्घाटन गरिएको पुलको एकापट्टिको पिलरसहितको भाग भत्काएको हो । बाढीले सिरिजंगा गाउँपालिका ८ याम्फुदिनको जनजिवन पनि प्रभावित भएको छ ।
कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सदस्य सचिव मनकमाुर राईका अनुसार काबेली नदीमा आएको बाढीले जगतबहादुर राईको घर पुरेको छ भने कञ्चनजंघा माध्यमिक विद्यालय, याम्फुदिन प्रहरी चौकी कञ्चनजंघा संरक्षण क्षेत्र, स्वास्थ्य चौकिको भवन जोखिममा छन् । विद्यालय र प्रहरी चौकीको नजिकै खोलाले कटान गरिरहेकोले बिहान स्थानीयले विद्यालयको सामान सारिरहेको उनले बताए । बाढीले दिलबहादुर मगरको एउटा गाई, एउटा भैंसी र सुँगुर समेत बगाएको छ ।
तारामान गुरुङ, अशोक गुरुङ, मणिकुमार राई, तार्सदिप गुरुङ, रामकुमार राई, सोमबहादुर राईका घर जोखिममा रहेको स्थानीयले बताएका छन् । बिहीबार बेलुका यो क्षेत्रमा सामान्य वर्षा भए पनि राति १० बजेको समयमा खोलामा आएको बाढीले व्यापक क्षति पुर्याएको परिषद् सदस्य राईले बताए ।
काबेली हाइड्रो पावरको गोदाम बगाउँदा करोडौं रुपैयाँ बराबरको क्षति भएको छ । मेसिन, गोदाम र क्रसर समेत बगाएको छ । खेवाङतर्फ आउने झोलुङ्गे पुल पनि आधा ढलेकाले मानिसको आवतजावतमा समेत समस्या हुन थालेको छ । यो पुल पनि बगे याम्फुदिनका मानिस बस्ती बाहिरका अन्य क्षेत्रमा जानबाट बञ्चित हुने छन् ।
सिदिङ्वा १ सुरुमखिमका विद्यालय आइतबार सम्मका लागि बन्द गरिएको बालकल्याण माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विदुर गुरुङले जानकारी दिए । उनका अनुसार शुक्रबार बिहान पनि वर्षा भइरहेको छ र बालबालिका विद्यालय जान सक्ने अवस्था छैन । सदरमुकाम फुङलिङबाट यात्रु लिन गएका दर्जनौं सवारी साधन गाउँमै रोकिएको विमलले वताए । वर्षा रोकिएर सडक नबनाएसम्म फर्काउने उपाय नभएको उनले जानकारी दिए ।