चीनमा रहेका अन्तिम भारतीय पत्रकारलाई पनि देश छोड्न आदेश दिइयो - Epathivara

काठमान्डौं । चीनले आफ्नो देशमा बाँकी रहेका एक भारतीय पत्रकारलाई पनि स्वदेश फर्कन आदेश दिएको छ । पछिल्ला केही वर्षयता भारत र चीनबीच एकअर्का देशका पत्रकारलाई देशबाट निकाल्ने होड चलेको छ । भारतले चिनियाँ पत्रकारलाई देशबाट निकाल्दा चीनले ‘जस्तालाई त्यस्तै व्यवहार अपनाएको’ चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

चीनमा अहिले प्रेस ट्रस्ट इन्डिया (पीटीआई) का भारतीय सम्वाददाता मात्र बाँकी छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले उनलाई पनि यसै महिनाको अन्तिमसम्ममा देश छाड्न भनिएको जानकारी दिएका हुन् ।

सन् २०२० मा भारतमा चीनका २० पत्रकार थिए । तर, अहिलेको समयमा भने भारतमा चीनका एक मात्र पत्रकार बाँकी छन् । प्रवक्ता वेननिबनका अनुसार भिसा अवधि नथपिएका कारण चिनियाँ पत्रकारहरूले भारत छाड्नु परेको हो ।

उनी भन्छन्, ‘वर्तमान अवस्थामा भारतमा एक मात्र चिनियाँ पत्रकार बाँकी छन् । उनको पनि भिसा अवधि थपिएको छैन ।’ सन् २०२० यता भारतले चिनियाँ पत्रकारहरूको भिसा अवधि नथप्दा चीनले पनि जस्तालाई त्यस्तै नीति अपनाएको चीनको भनाइ छ ।

सन् २०२० को जुन १५ मा विवादित क्षेत्र गलवान उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच हिंस्रक झडप भएयता भारतले चिनियाँ पत्रकारहरूको भिसा अवधि थप्न अस्वीकार गरिरहेको हो । सो झडपमा २० भारतीय सेना र ५ चिनियाँ सेनाको ज्यान गएको थियो ।

वास्तवमा यी पत्रकारहरू दुवै देशबीच चर्किँदो भूराजनीतिक विवादको शिकार बनेका हुन् । अब भारतले पनि आफ्नो देशमा बाँकी रहेको अन्तिम चिनियाँ पत्रकारलाई चीन नै फर्कादिने अनुमान गरिएको छ । अमेरिका र चीनबीच पनि पत्रकारको विषयमा यस्तै किसिमको व्यवहार छ । खासगरी अमेरिकामा सन् २०१६ मा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि चिनियाँ पत्रकारहरूलाई विभिन्न आरोपमा त्यहाँबाट निकाल्न खोजिएको थियो ।

यसअघि सन् २०२० मै चीन र अस्ट्रेलियाबीचको कूटनीतिक सम्बन्धमा दरार पैदा हुँदा दुई अस्ट्रेलियाली पत्रकारले चीन छाडेका थिए । त्यसबेला चीनले अस्ट्रेलियास्थित चिनियाँ सरकारी सञ्चारमाध्यममा छापा मारेको आरोप लगाएको थियो ।

-टाइम्स अफ इन्डियाको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर