चौंरी गोठालो छाडेर गाडीको स्टेरिङ घुमाउँदै - Epathivara

ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका पाटनमा चौंरी चराउँदै हिँड्ने गोम्बु शेर्पा यतिबेला इलाममा गाडी चलाउन सिकिरहेका छन् । जीवनका धेरै वर्ष चरन, खर्क र हिमपात हेर्दै गुफातिर चौंरीलाई उकालो ओरालो गराएका उनी गत जेठ ६ मा इलाम झरेपछि भने गाडीलाई उकालो ओरालो गराउन सिकिरहेका छन् । बिहान उठेदेखि सुत्नुअघिसम्म ड्राइभिङ सेन्टरमै अभ्यासरत भेटिन्छन् ।

चीनको तिब्बतसँग सिमाना जोडिएको ओलाङचुङगोलामा मोटरबाटो पुग्ने भएपछि यहाँका ९ युवक ड्राइभिङ सिक्न कस्सिएका हुन् । यसका लागि उनीहरूलाई वडा कार्यालयले सहयोग गरेको छ । ‘यतिन्जेलसम्मको जीवन उनीहरूले चौंरीसँगै बिताए, अब गाडी चालक बनाउन खोजेका छौं,’ वडाध्यक्ष छेतेन शेर्पा लामाले भने, ‘रोजगारीको सम्भावना भएकाले इच्छुकलाई तालिममा पठाएका हौं ।’

उनीहरूका लागि वडाले ४ लाख रुपैयाँ खर्च व्यहोरेको छेतेनले सुनाए । उनीहरूले प्रतिव्यक्ति २० हजार तिरेर ड्राइभिङ सिकिरहेका हुन् । तालिममा पठाउनुअघि वडाले आवेदन मागेको थियो । आवेदन दिने सबै ९ जनालाई नै वडाले तालिममा पठाएको हो ।

चीनसँग सीमा जोडिएको फक्ताङलुङमा मोटरबाटो पुगेपछि बजारको बाटो पनि खुल्ने भएकाले चालकका रूपमा उनीहरूको रोजगारी पक्का भएको छेतेन बताउँछन् । ‘सिमानादेखि एकअर्को देशको २० किलोमिटरभित्रसम्म आउजाउ गर्न पाउने व्यवस्था छ,’ छेतेनले भने, ‘चीनले बाहिरका चालकलाई प्रवेश नदिन सक्छ, त्यसैले स्थानीयले नै काम पाउँछन् ।’

अर्का प्रशिक्षार्थी टासी तेन्जिङ वालुङ भने अहिले नै सवारी अनुमतिपत्र (लाइसेन्स) निकालेपछि आफैंले गाडी किन्ने कि अरूको चलाउने भन्नेमा माथापच्ची गरिरहेका छन् । ‘हाम्रोमा कस्तो गाडी चल्छ भनेर बुझिरहेका छौं,’ टाँसीले भने, ‘बाबु, बाजेदेखि नै चौंरी धपाइयो, अब त गाडी कुदाइन्छ ।’ तालिम सकेपछि गाडी चलाउने हतारोमा छन् उनी । तालिम सेन्टरका मुख्य प्रशिक्षक अर्पण गुरुङले नौ जनामध्ये पाँच अहिले नै गाडी लिएर सडकमा निस्कन सक्ने भइसकेको बताए ।

हिमाली बस्ती ओलाङचुङगोलामा चीनको तिब्बतबाट यसअघि नै मोटरबाटो आइसकेको छ । कोरोना संक्रमणअघिसम्म तिब्बतबाट सवारीसाधन पनि निरन्तर आउँथे । बस्तीदेखि १० किलोमिटर तल (सदरमुकामतर्फ) पनि मोटरबाटोको ट्र्याक खुलेको छ । सदरमुकाम फुङलिङदेखि पार्टीडाँडासम्म ट्र्याक पुगेको छ । उत्तर दक्षिण(मूलघाट–दोभान–ओलाङचुङगोला) सडक योजनाका अनुसार अब करिब आठ सय मिटर मात्रै ट्र्याक खुल्न बाँकी छ ।

ट्र्याक खुलेपछि चीनसँगको सिमाना टिप्ताला भन्ज्याङसम्म नै सवारीसाधन चल्छ । आगामी असोजसम्ममा यातायात चल्ने गरी सडक निर्माणको काम भइरहेको मुख्य ठेकेदार पेम्बा शेर्पाले बताए । यहाँ एलाइट निर्माण कम्पनीले सडक निर्माण गरिरहेको छ । यातायात पुगेपछि ओलाङचुङगोला र चीनसँग जोडिएको टिप्ताला भन्ज्याङ पर्यटकीय दृष्टिकोणले पनि आकर्षणमा पर्ने यहाँका स्थानीयको विश्वास देखिन्छ ।

अहिलेसम्म यहाँका युवकले चौंरी गोठ सम्हाल्ने र महिलाले गलैंचा बुन्ने गर्दै आएका छन् । नेपाल र चीन आउजाउ गर्ने वातावरण भए तिब्बतका पर्यटक पनि यहाँ आउने सम्भावना देख्छन्, वडा सदस्य टाँसी शेर्पा । त्यसैले पनि वडाले अहिल्यैदेखि योजनाबद्ध तयारी गरेको छेतेन बताउँछन् । ‘दक्ष चालक भएपछि उनीहरूले नै पनि गाडी किन्न सक्छन्,’ उनले थपे, ‘नत्र भाडामा लिन पनि सकिन्छ ।’

तिब्बतमा साना गाडी मात्रै चल्ने भएकाले १० देखि १४ जनासम्म अट्ने सवारी हाँक्न सक्ने भए हुने छेतेन बताउँछन् । स्थानीय नै चालक भए पथप्रदर्शकको पनि काम गर्ने भएकाले पर्यटकलाई पनि ढुक्क हुने बुझाइ वडाको छ । चीनको तिब्बतसम्मको जानकार स्थानीय नै चालक हुँदा यात्रु, पर्यटकलाई पनि सहज हुने वडाको बुझाइ छ । पर्यटक भित्र्याउन चालकको ठूलो हात हुने भएकाले ओलाङचुङ योजनाबद्ध ढंगले लागेको जनप्रतिनिधिको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर