राजेन्द्र ओझासहित नेपाली युवाहरू 'दादासाहेब फाल्के टेलिभिजन अवार्ड २०२३' बाट सम्मानित - Epathivara

काठमान्डाैं । टेलिभिजन कार्यक्रम प्रस्तोता एवम् निर्देशक सरोज ओझा र श्रष्टा एवम् सामाजिक अभियन्ता राजेन्द्र प्रसाद ओझासहित ७ नेपालीले दादासाहेब फाल्के टेलिभजन अवार्ड २०२३ प्राप्त गरेका छन् ।

अनुसन्धानका साथै कविता लेखन तथा ‘ब्लड डोनरसन’ अभियानमा सक्रिय राजेन्द्र प्रसाद ओझा, एनटीभी न्युजमा प्रसारण हुँदै आएको कार्यक्रम सचेतनाका प्रस्तोता एवम् निर्देशक सरोज ओझासहित अभिनय, गायन, श्रिंगार कलालगायतका विधाअन्तर्गत नेपालीहरू भारतमा प्रतिष्ठित अवार्डबाट सम्मानित भएका हुन् ।

दादा साहेब फाल्के इन्डियन टेलिभिजन अवार्डको विदेशी विधाअन्तर्गत नेपालबाट २०२३ का लागि विभूषित हुनेमा कलाकार नितु कोइराला, गायक विनोद ढकाल, व्युटिसियन सुशीला थापा, इभेन्ट निर्देशक अमित शाह र अभियानकर्मी कृष्णप्रसाद देवकोटा रहेका छन् ।

उक्त अवार्ड भारतका दिग्गज कलाकार, टेलिभिजन पत्रकार र अभियन्ताहरूलाई प्रदान गरिएको छ । जसमा २०२३ को संस्करण अभिनेत्री श्वेता तिवारी, अभिनेत्री एवम् मोडेल रानी रे, मोडेल रितु शर्मा, फेसन डिजाइनर रागिनी के सिंह, मोनिका भादोरिया, सामाजिक अभियन्ता बेलिन्दा पेरेरा, अशोक प्रसाद अभिशेक, आदित्य खुराना, रमादिप कौर, हितेन तेजवानी, मान्या सिंह, निहारिका राजदान, मदल्सा शर्मा, लिजा सिंह, टविन्कल वशिष्ठलगायत कलाकारहरूले अवार्ड पाएका छन् ।

मुम्बईका एसिपी शशिकान्त मनेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ठ व्यक्त्तित्वहरूको सहभागीता रहेको थियो । अवार्ड सेरोमनी फिल्मोरा मिडियाको आयोजनामा मुम्बईको हायात होटेलमा गत जुन ११ गते सम्पन्न भएको हो ।

सो अवसरमा आयोजक संस्था फिल्मोराका प्रमुख अखिलेश सिंहलाई नेपालको तर्फबाट नेपाल र भारतको झण्डा अंकित मायाको चिनो उपहारस्वरुप प्रदान गरिएको थियो । उक्त उपहार ग्रहण गर्दै सिंहले दादा साहेब फाल्के टेलिभिजन अवार्डको आगामी संस्करण नेपालमा आयोजना गर्न सकिने बारे आफू विमर्शमा रहेको जानकारी गराए ।

‘नेपाल र भारत बीचको सांस्कृतिक एवम् भाइचारा सम्बधलाई ध्यानमा राख्दै हामीले नेपाली कलाकार, पत्रकार, अभियानकर्मी आदीलाई समेटेर गेस्ट अफ अनर विधाअन्तर्गत यो अवार्ड वितरण गरेका हौँ, पेशागत योगदानका आधारमा हामीले प्राप्त विवरणमध्ये यसपटक कुल सात नेपाली साथीहरूलाई छनौट गरी अवार्ड प्रदान गरेका छौँ । यस्ता गतिविधिले भारत र नेपालको टेलिभिजन इन्डष्ट्रिलाई अघि बढाउन थप बल पुग्ने विश्वास मैले लिएको छु,’ सिंहले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर